दलित समाचार » डरले तनहुँका अन्तरजातीय जोडीको बाग्लुङमा बिहे
डरले तनहुँका अन्तरजातीय जोडीको बाग्लुङमा बिहे
Posted: December 3, 2009

बाग्लुङ, १८ मंसिर : प्रेमसम्बन्ध असफल हुने डरले तनहुँका एक जोडीले बिहीबार बाग्लुङ आई अन्तरजातीय विवाह गरेका छन् । तनहुँमा गाँसेको पिरतीलाई थुप्रेक-१ का सोमबहादुर विक र दुलेगौँडा-२ तनहुँकी अञ्जना खनालले बाग्लुङमा आई विवाह गरेका हुन् । उनीहरूबीच ६ वर्षदेखि प्रेमसम्बन्ध थियो ।

तनहुँबाट बाग्लुङ आएका विक र खनालको विवाहलाई दलित गैरसरकारी संस्था महासंघ -डिएनएफ) बाग्लुङले वैधानिकता दिएको छ । अन्तरजातीय विवाहको साक्षी बनेका थिए, संविधानसभाका सभासद् रामजीप्रसाद शर्मा । महासंघले अन्तरजातीय प्रेमविवाह गरेका जोडीलाई विवाहको प्रमाणपत्र पनि दिएको छ ।

विवाहको साक्षी बनेका सभासद् शर्माले अन्तरजातीय जोडीलाई बधाई दिँदै सामाजिक रूपान्तरणका लागि मानवताबीच गरिने विभेद अन्त्य गर्न विवाह राम्रो पाठ बन्ने सक्ने बताए ।

अन्तरजातीय विवाह गर्नेलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने घोषणा गरेको सरकारले यस्तो जोडीलाई संरक्षण दिई प्रोत्साहन गर्नुपर्ने सभासद् शर्माले बताए । उनले जातीयताकै आधारमा विवाहलाई छुट्टाउन खोजिए पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे ।

'गृहजिल्लामा अन्तरजातीय विवाहलाई समाजले अस्वीकार गरी छुट्टाइदिनेे डरले दलित अधिकारकर्मीको सहयोगमा बाग्लुङ आई विवाह गर्नुपरेको हो,' सोम विकले भने, 'सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याए पनि कडाइका साथ कार्यान्वयन नगर्दा समाजमा स्वतन्त्र प्रेम गर्नेले उल्टै सजाय पाउन थालेका छन् ।' मानवताबीचको जातीयताको खाडललाई पुर्न युवाहरूले सचेत भूमिका खेल्नुपर्ने बताउँदै सोमले अन्तरजातीय प्रेमविवाहलाई सार्थकता दिन सघाउने आयोजकलाई धन्यवाद दिए ।

'मानिस समान हुन्, कोही दलित र कोही गैरदलित हँुदैन,' अञ्जनाले भनिन्, 'भावना र प्रेम बुझ्नेसँग विवाह गरेकी हुँ ।' नवदम्पतीले जातीय विभेदको अन्त्य गर्न युवालाई उत्प्रेरणा दिने प्रतिबद्वता व्यक्त गरेका छन् । छुवाछुत तथा अपराध नियन्त्रण केन्द्रका गोविन्द नेपाल र उत्पीडित दलित समुदायको सञ्जालका संयोजक धनबहादुर परियारले अन्तरजातीय प्रेमविवाह गरी असुरक्षित बनेकालाई स्वतन्त्र भएर बाँच्न पाउने वातावरण सिर्जना गर्न संघर्ष गरिरहेको प्रतिबद्वता व्यक्त गरे ।


« Go Back
Supporters / Sponsors :