दलित समाचार » जात सच्याउन पनिका धाउँदै छन् दलित विद्यार्थी |
||
| जात सच्याउन पनिका धाउँदै छन् दलित विद्यार्थी
Posted: March 31, 2010 शुकमाया विक र चिजबहादुर कामीकी छोरी हुन्— निरू थापा । कास्की दानसिङस्थित उच्च माध्यमिक विद्यालयबाट ०६५ मा एसएलसी परीक्षा दिएकी निरू आफ्नो थर सच्याएर विक बनाउन कहिले जिल्ला प्रशासन कार्यालय त कहिले क्षेत्रीय शिक्षा निर्देशनालय धाइन् । ती ठाउँबाट थर नसच्चिएपछि उनी अहिले परीक्षा नियन्त्रण कार्यालय भक्तपुर आइपुगेकी छिन् । कास्कीकै बबी थापा पनि बुद्धिबहादुर र बुद्धिकुमारी कामीकी छोरी हुन् । उनको एसएलसीको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्रमा समेत थर थापा छ । उनीहरू दलित भएको प्रमाणित गरी जिल्ला प्रशासनले समेत पत्र दिएको छ । अहिले थर सच्चाउन माग गर्दै परीक्षा नियन्त्रण कार्यालय आइपुगेका छन् । कपिलवस्तुका चैते कामीका छोरा नरबहादुरको एसएलसी प्रमाणपत्रमा थर पर्तेल छ । उनी पनि थर सच्चाएर कामी बनाउने प्रयासमा लागेका छन् । पूर्ण पुन थरका विद्यार्थी पनि पूर्ण परियार बनाउने काममा लागेका छन् । यी त क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै थर सच्याउन परीक्षा नियन्त्रण कार्यालय भक्तपुर आएका विद्यार्थीका केही उदाहरणमात्र हुन् । अहिले विभिन्न समुदायमा अपमान सहनुपर्ने डरले नक्कली थर राखेका विद्यार्थीसमेत धमाधम वास्तविक थर राख्ने प्रयासमा जुटेका छन् । उनीहरूको थर सच्याउने विषयमा पनिका बोर्डले निर्णय गर्नेछ । एसएलसीको प्रमाणपत्रमा सच्याउन चाहने विद्यार्थी आएर बुझ्ने र र्फकने गरेको परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले बताए । दलित विद्यार्थीले धेरै अवसर पाउन थालेकाले पहिले अरू थर राखेका विद्यार्थी पनि सच्याउन आउने गरेको देवकोटाको भनाइ छ । 'यहाँ थर सच्याउन मिल्छ कि मिल्दैन भनेर बुझ्न आइरहन्छन्,' उनले भने । उनीहरू पनिकाले थर बिगारेर सच्याउन आएका भने होइनन् । 'उनीहरू आफैँले भरेको एसएलसीको प्रवेशपत्र र उत्तीर्ण गरेपछि दिइएको प्रमाणपत्रमा थर एउटै छ,' पनिकाका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने, 'उनीहरूले त्यतिबेला सामाजिक विभेद हुने डरले वास्तविक थर नलेखेर अहिले राज्यबाट पाउने सुविधाका लागि वास्तविक थर राख्न खोजेका हुन सक्छन् ।' परीक्षाको नतिजा आएको ६ महिनाभित्र थर सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । जिल्ला प्रशासनले प्रमाणित गरेपछि पनिकाले 'ठीक छ' भनेमा मात्र प्रमाणपत्रमा थर सच्याउन सकिने प्रावधान छ । उनीहरूलाई विद्यालयले दिएको चारित्रिक प्रमाणपत्र र एसएलसीको प्रवेशपत्र र उत्तीर्ण भएको प्रमाणपत्रमा समेत एउटै थर भएकाले पनि ती विद्यार्थी जानाजान अर्को थर राखेको पुष्टि हुन्छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष बिजुल विश्वकर्माले अहिले सबैले जातीय पहिचान र अवसर खोजी गर्ने समय भएकाले विद्यार्थीले वास्तविक थर राख्न खोजिरहेको बताए । 'पहिले अरूको थर लेखेर भए पनि इज्जत पाइएला भन्ने ठाने,' आयोगका अध्यक्ष विश्वकर्माले भने, 'उतिबेला दलित भनेपछि समाजमा मानवीय व्यवहार पनि हुँदैन्थ्यो र कुनै अवसर नभएकाले पनि डुप्लिकेट थर राख्न बाध्य थिए ।' अहिले दलित विद्यार्थी राज्यबाट दिइएका अवसर प्राप्त गर्न 'डुप्लिकेट' सच्याएर 'ओरिजिनल' थरको खोजीमा रहेको उनको भनाइ छ । दलित विद्यार्थीलाई विद्यालयदेखि उच्च शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था छ । शिक्षा मन्त्रालयले उपलब्ध गराउने छात्रवृत्ति दलित विद्यार्थीका लागि १५ प्रतिशत कायम गरेको छ ।
शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाका प्रमुख नारायणकृष्ण श्रेष्ठका अनुसार
नौ प्रतिशत सबै दलित विद्यार्थीका लागि, तीन प्रतिशत मधेसी विद्यार्थी र
तीन प्रतिशत दलित छात्रा विद्यार्थीका लागि कोटा छुटयाइएको छ । श्रोत: नयाँ पत्रिका दैनिक « Go Back |
Supporters / Sponsors :
