दलित समाचार » दलित छात्राबास संचालन नहुदै भत्कने खतरामा
दलित छात्राबास संचालन नहुदै भत्कने खतरामा
Posted: April 7, 2010
छविलाल तिवारी/पर्वत २५ चैत
दलित विद्यार्थीका लागि निर्माण गरिएको यहाँको एक छात्राबास प्रयोगमा नआउँदै भत्कने अवस्थामा पुगेको छ । सुदूरउत्तरी पर्वतको लेखफाँट गाउँ विकास समितिमा रहेको ग्रामप्रकाश उच्च माध्यमिक विद्यालयमा तीन वर्षअघि निर्माण गरिएको दलित छात्राबास प्रयोगमा नल्याउदा जिर्ण भई भत्कने अवस्थामा पुगेको हो ।
टाढा-टाढाबाट आउने दलित विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि छात्राबासमै बस्ने गरी उत्पीडित जातीय मुक्ति समाज पर्वतको अगुवाईमा सो छात्राबास भवन निर्माण गरिएको थियो । झण्डै दुई लाख रुपियाँको लागतमा निर्माण गरिएको छात्राबासका लागि जिल्ला विकास समिति पर्वतले ४५ हजार रुपियँ सहयोग र अन्य रकम लेखफाँट र शालिजा गाविस तथा  स्थानीय अभिभावकको चन्दा सङ्कलन गरी जुटाइएको समाजका जिल्ला अध्यक्ष उदबीर नेपालीले बताए ।
पहिले टाढाबाट आउने भएका कारण दलित विद्यार्थीलाई बढी समस्या भए पनि अहिले भने घरबाटै आवतजावत गर्नसक्ने विद्यालयका प्राचार्य भवानीशंकर पौडेलले बताए । उनले छात्राबास आवश्यक नभएको र विद्यालयलाई भवन आवश्यक भएकोले चार कोठासहितको उक्त भवन जानाजान भत्किन दिनुभन्दा विद्यालयलाई नै हस्तान्तरण गरिदिन समाजसँग माग गर्दै आएको भएपनि भवन पाउन नसकेको गुनासो पनि गरे । झण्डै चार दशकअघि निर्माण गरिएको जीर्ण भवनमा अहिले कक्षा साचालन गर्नुपरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार भवनकै अभावले ऐच्छिक विषयका विद्यार्थीलाई अन्य विद्यार्थीको विदा भएपछिमात्र पढाउनुपर्ने बाध्यता छ ।
समाजका अध्यक्ष नेपालीले भने भौगोलिक बनावटका कारण भवन निर्माणलगत्तै जमिन भासिएका कारण मर्मत गर्नुपर्ने अवस्थामा पुगेको र मर्मत गरेर सहमतिमा विद्यालयलाई हस्तान्तरण गर्नसकिने बताए । मर्मत नगरी प्रयोगमा ल्याउने अवस्था छैनु उनले भने-मर्मत गरेर सहमतिमा विद्यालयलाई हस्तान्तरण गर्न सक्छौँ ।

« Go Back
Supporters / Sponsors :