दलित समाचार » दलित प्र.अ. भएपछि विद्यालय बहिष्कार |
||
| दलित प्र.अ. भएपछि विद्यालय बहिष्कार
Posted: April 8, 2010 राम धामी, (डडेल्धुरा), प्रधानाध्यापक पदमा दलित नियुक्त भएपछि दार्चुलाको एक विद्यालयका गैरदलित अभिभावकले आफ्ना बालबालिकालाई सो विद्यालयमा पढाउन छाडेका छन्। सदरमुकाम नजिकै पर्ने हुती गाविसमा रहेको लटिनाथ प्राथमिक विद्यालयका अभिभावकहरूले दलित हेडमास्टर भएको विद्यालयमा नपढाउने भन्दै आफ्ना छोराछोरीलाई टाढाका विद्यालयहरूमा भर्ना गरिरहेका छन्। सदरमुकामदेखि ६ घण्टाको पैदल दूरीमा रहेको सो विद्यालयमा स्थानीय रन्जित परियार प्रधानाध्यापक भएर गएलगत्तै गैरदलित अभिभावकहरूले विद्यालय नै बहिष्कार गरिदिएका हुन्। ‘बरु टाढाकै विद्यालय पठाउनु बेस।’ स्थानीय अभिभावक जयसिंह धामीले भने- ‘स्कुलको हेडमास्टरै दलित भएपछि त्यँहाँ पढाउनुको कुनै अर्थ छैन।’ जिल्लाको ग्रामीण क्षेत्रमा दलितलाई माथिल्ला जातका मान्छेले गर्ने काम सहजै गर्न दिइँदैन। ‘पढाउने ठाउँमै दलित प्रमुख भएपछि धर्म ब्रि्रन्छ भन्दै धमाधम आफ्ना नानीहरूलाई अर्को विद्यालय भर्ना गरिन थालिएको छ।’ -प्रधानाध्यापक परियारले भने। जातीय विभेद गर्न नहुने कुरा सम्झाउन खोज्दा उल्टै ‘दलित भएर बढी जान्ने’ भन्दै रिसाएर आएकाले केही गर्न नसकिएको प्रधानाध्यापक परियार बताउछन्। ‘गाउँमा जातीय विभेद यति धेरै रहेछ’, उनले भने- ‘एकचोटि त राजीनामा दिन खोजे तर, राजीनामा दिए पनि उल्टै विभेदले प्रश्रय पाउने भएकाले दिइँन।’ राजीनामा दिए नराम्रो सन्देश जाने भन्दै स्थानीय दलित अधिकारकर्मीहरूले परियारलाई राजीनामा नदिन दबाब दिएका थिए। ७० प्रतिसतभन्दा बढी गैरदलित बालबालिकाहरू यसपालिदेखि सो विद्यालयमा नपढ्ने भएपछि विद्यालय बन्द हुने अवस्थामा रहेको कार्यरत शिक्षकहरू बताउँछन्। लटिनाथ प्राथमिक विद्यालयको वरिपरी गैरदलितहरूको बाक्लो बस्ती छ। आँगनमै रहेको विद्यालयमा गैरदलित प्रधानाध्यापक भए मात्रै पढाउने भन्दै स्थानीय अभिभावकहरूले नयाँ शैक्षिक सत्रका लागि गाउँ टाढाका विद्यालयमा बालबालिका भर्ना गरिरहेका छन्। युवाहरूमा विभेदको संस्कार नभए पनि बूढापाकाहरूलाई मनाउन नसकिएकाले बालबालिका अन्यत्रै भर्ना गर्नुपरिरहेको स्थानीय नरेन्द्रसिंह धामीले बताए। ‘बूढापाकाले एकैचोटि परम्परा छाड्दैनन्’, उनले भने- ‘प्रधानाध्यापकले पनि बूढापाकाहरूको समस्या नबुझेर आफ्नै कुरा पेल्न थालेपछि समस्या उत्पन्न भएको हो।’ श्रोत: नेपाल समाचार पत्र « Go Back |
Supporters / Sponsors :
