दलित समाचार » बादीहरू यौन व्यवसायमा र्फकंदै
बादीहरू यौन व्यवसायमा र्फकंदै
Posted: May 14, 2010
कमल पन्थी
गुलरिया, वैशाख ३० -
सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यहाँका बादी महिलाले फेरि यौन व्यवसायमा र्फकने घोषणा गरेका छन् ।

सरकार र बादी समुदायबीच ०६४ मंसिर १५ मा भएको सम्झौता कार्यान्वयन नभएपछि बाध्य भई पेट पाल्नकै लागि व्यवसायमा र्फकनुपरेको उनीहरूले बताए । बिहीबार पत्रकार सम्मेलन गरी उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।

'हामीले पनि सम्मानित जीवन बिताउँ भन्ने सोचेका थियौं । तर सरकारले त्यो अवसरबाट वञ्चित गराएकाले बाध्य भएर यौन व्यवसाय सुरु गर्‍यो,' राजापुर ६ अनन्तपुरकी शान्ति नेपालीले

भनिन् । पेट पाल्न यौन व्यवसाय गर्नुपर्ने बाध्यता भएकाले फेरि अँगाल्नुपरेकोे गीता नेपालीले बताइन् ।

 जिल्लामा २ सय १९ घरधुरी बादी समुदाय छन् । तीमध्ये राजापुरमा मात्र बादी समुदाय २४ घरधुरी यौन व्यवसायमा संलग्न भएको उनीहरूले बताए । बादीकहाँ चिया पिउन हुँदैन भन्दै चियाको पसल थाप्दा कोही पनि नआउने गरेको गुनासो गीताले सुनाइन् ।

एक दशकयता बादी समुदायलेे यौन व्यवसाय बन्द गरेका थिए । व्यवसाय बन्द भएपछि केही भारतको मुम्बईलगायतका सहरमा रोजगारीका लागि गएका थिए । केही भने वैवाहिक जीवन बिताएर बसेका छन् । बादी समुदाय दुई सय वर्षअघि भारतको बैशाली राज्यबाट बसाइँसराइ गर्दै सल्यानमा आएका थिए । त्यसपछि रुकुम, बाँके, दाङ, सुर्खेत, बर्दिया लगायतका जिल्लामा बसाइँसराइ गरेका थिए । प्रतिष्ठित व्यक्तिहरूले नाचगानका क्रममा यौन शोषण गरेको उनीहरूको भनाइ छ । यौन पेसामा संलग्न गराउन उनीहरूकै मुख्य भूमिका रहेको आरोप राष्ट्रिय बादी अधिकार संगठनका अध्यक्ष अर्जुन नेपालीले लगाए । चालू आवका लागि विनोयोजित गरेको बजेटको पहिलो चरणमा १५ हजार आर्थिक सहयोग उपलब्ध गराउने भनिए पनि हालसम्म उपलब्ध नगराएको उनले बताए ।

बादी समुदायका लागि घर आवास योजना लागू, महिला विकास कार्यालयले लगानी गरेको १५ हजार रुपैयाँ वितरणलगायतका माग उनीहरूको छ । आव २०६५/०६६ को बजेट नीति तथा कार्यक्रममा बादी समुदाय बसोबास गरिरहेको

१० जिल्लामा ३ करोड रुपैयाँ घर आवास निर्माणमा छुट्टयाइए पनि सरकारले उक्त रकम उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेको उनीहरूले बताए ।
Source: ekantipur.com

« Go Back
Supporters / Sponsors :