दलित समाचार » मन्दिरमा दलित महिला पुजारी
मन्दिरमा दलित महिला पुजारी
Posted: June 4, 2010
दुर्गाप्रसाद शर्मा, (पर्वत), मन्दिरमा पुजारीको रुपमा प्रायः पुरुषहरू नै रहेको पाइन्छ।


तर अन्यत्रका मन्दिरमा भन्दा पर्वतको शिवालय गाविस वडा नं ३ गोदामको दुर्गा मन्दिरमा भने महिला पुजारीले पूजा गर्दै आएकी छिन् त्यो पनि दलित समुदायकी। पानी चल्ने जातले मात्र मन्दिरमा पूजा गर्ने परम्परा तोड्दै यहाँकी एक दलित महिलाले सात वर्षदेखि पुजारीको काम गर्दै आएकी छन्। स्थानीय डल्ली नेपाली मन्दिरमा पूजा गर्ने पहिलो दलित महिला हुन्।

नेपालीले २०६१ सालदेखि निरन्तर रुपमा मन्दिरमा बिहान-बेलुका पूजाआजा सञ्चालन गर्दै आएकी छन्। मन्दिरमा रहेका पुरुष पुजारीको मृत्युपछि आफूले पूजा गर्दै आएको नेपालीले बताइन्। ‘पहिले जेठाबाले पूजा गर्नुहुन्थ्यो उहाँ स्वर्गे भएपछि मैले थालेकी हुँ।’ -उनले भनिन्।

अहिले पूजा गर्न दलित मात्रै आउने गरेको र नेपालीहरूको जुठो सुत्केरो परे विक तथा परियारहरूले पूजाआजा चलाउने गरेका छन्। आफू जीवित भएसम्म यहीँ पूजा गरेर बस्ने विचार छ उहाँको। उमेर ५० वर्षपुगेकी अविवाहित महिला नेपाली अहिले समाजकै उदाहारण बनेकी छिन्।

मन्दिर वरपर बस्ने दमाइँ, कामी र सार्की जातका दलितहरूले मिलेर निर्माण गरेको मन्दिरमा अन्य जाति भने कमै मात्रामा पूजा गर्न आउने गरेका छन्। चन्दा, भैलो, र स्थानीयवासीहरूको श्रमदानपछि निर्माण गरिएको दुर्गा मन्दिरमा दलितहरूकै पहलबाट पूजाआजा सञ्चालन गरेका हुन्। स्थानीय ब्राहृमण समुदायका व्यक्तिहरूले दलितलाई मन्दिरमा प्रवेश गर्न नदिएपछि स्थानीय दलितहरू मिलेर ५० सालमा निर्माण गरेका थिए। अन्य मन्दिरहरूमा जाँदा पस्न नदिएपछि सबै दलितहरू मिलेर मन्दिर निर्माण गरेको स्थानीयवासी दिलबहादुर परियारले बताए।


« Go Back
Supporters / Sponsors :