दलित समाचार » अन्तर्जातीय विवाह गर्ने दलित परिवार गाउँनिकाला
अन्तर्जातीय विवाह गर्ने दलित परिवार गाउँनिकाला
Posted: June 18, 2010
image

रामनारायण विश्वास

सप्तरी, ३ असार

आफूभन्दा 'माथिल्लो जात' की युवतीसँग विवाह गरेको भन्दै सप्तरीको एक दलित परिवार गाउँनिकाला भएको छ । प्रसवनी-१ का गुगली रजक साफीसहित उनको ६ जनाको परिवारलाई 'उपल्लो जात' जातका अगुवाले गाउँनिकाला गरेका हुन् ।

गुगलीले स्थानीय हर्कु चौधरीकी छोरी वसन्तीसित गत वर्ष ९ चैतमा बिहे गरेका थिए । दलितले उपल्लो जातकी युवतीसँग बिहे गरेको भन्दै आफू र आफ्नो परिवारलाई गाउँलेले पटक-पटक मार्ने धम्की दिनुका साथै कुटपिटसमेत गर्ने गरेको गुगलीले नयाँ पत्रिकालाई बताए ।

बिहे भएको तीन महिनासम्म समाजको डरले आफू र वसन्ती भारतको दिल्लीमा बस्दै आएको उनले बताए । गुगलीले भने, 'गत सोमबार मात्र दिल्लीबाट हामी गाउँ फर्किएका हौँ, तर बुधबार उपल्लो जातका व्यक्तिले म र मेरो परिवारलाई निर्घात कुटपिट गर्दै गाउँबाट निकाले ।' स्थानीय लीलाधरप्रसाद सिंह चौधरी, दुखन चौधरी, सुजितप्रसाद सिंह चौधरी, दिलीपप्रसाद सिंह चौधरीलगायतले कुटपिट गर्दै गाउँ छाडेर नहिँडे ज्यान लिने धम्की दिएको उनले बताए ।

कुटाइ र ज्यानमार्ने धम्कीपछि सो दलित परिवार गाउँ छाडी विस्थापित भएको छ । गुगलीका जेठी श्रीमती गीतादेवी रजक, तीन महिनाको गर्भ बोकेकी कान्छी श्रीमती वसन्ती चौधरी, दुई नाबालक छोराछोरी तथा एक भाइ न्याय खोज्दै बिहीबार सदरमुकाम राजविराज आएका छन् ।

गुगलीकी जेठी श्रीमती गीतादेवीले समेत आफूले श्रीमान्लाई अर्को बिहे गर्न मन्जुरी दिएको बताएकी छिन् । 'मेरै मञ्जुरीमा श्रीमान्ले अर्को बिहे गरेका हुन्,' गीतादेवीले भनिन् । गुगलीकी कान्छी श्रीमती वसन्तीले पनि दलितसँग विवाह गरेकै कारण माइतीले निर्घात कुटेर गाउँनिकाला गरेको बताएकी छिन् । 'मसँग बिहे गरेको निहुँमा मेरा माइती पक्षले मार्ने धम्की दिँदै गाउँबाट निकाले ।'

कुटाइबाट आफ्नो गर्भमा रहेको बच्चा बिगि्रने डर लागेको वसन्तीले गुनासो गरिन् । 'गर्भास्थामा यसरी नकुट्न बिन्ती गर्दासमेत सुनेनन् ।' श्रीमान् गुगलीले भने आफूलाई गाउँमै बस्ने वातावरण मिलाइदिन प्रहरी प्रशासन, अधिकारकर्मीलगायतसमक्ष आग्रह गरेका छन् । उनीहरूलाई अहिले दलित मुक्ति मोर्चा

सप्तरीले सदरमुकाम राजविराजमा बस्ने व्यवस्था मिलाइदिएको छ ।

श्रोत:  नयाँ पत्रिका


« Go Back
Supporters / Sponsors :