दलित समाचार » प्रहरी र गाउँलेले टहरा भत्काएपछि दलित परिवारको बिचल्ली
प्रहरी र गाउँलेले टहरा भत्काएपछि दलित परिवारको बिचल्ली
Posted: June 19, 2010
पोखरा, अषाढ ५ - गाउँले र प्रहरी मिलेर टहरामा राखेको पसल भत्काई दिएपछि लेखनाथ १५ मालेपाटन बुडुवाका एक दलित परिवारको बिचल्ली भएको छ ।
करिव तीन बर्षअघिदेखि बस्दै आएको टहरा शुक्रबार भत्काईदिएपछि गर्भवती बुहारीसहितका अपाङ्ग ५१ वर्षीय शमशेर गहतराज नौ जनाको परिवार गाउँबाट बिस्थापित भएका छन ।
टहरासँगैको पसल हटाईपछि आम्दानीको स्रोत खोसिएर दलित परिवार न्याय खोज्दै भौतारिदै पोखरामा हिडेका छन ।
प्रहरीले हटाउने क्रममा गर्भवती महिलामाथि अमानविय ब्यबहार गरेका थिए । न्यायका लागि उनीहरुले राष्ट्रिय मानबअधिकार आयोग क्षेत्रीय कार्यालयमा समेत निवेदन दिएका छन ।
शिशुवा प्रहरीचौकी डाँडाकोनाकबाट बिहान आठ बजे पुगेको प्रहरी टोलीले गर्भवती युवती र सामाग्रीलाई बाहिर निकालेर ब्लकको टहरा भत्काई दिएका थिए ।
अपाङ्ग श्रीमान र सन्तानको गुजाराका लागि ऋणधन गरेर राखेको पसल भत्काई दिएपछि आफुहरुको बिचल्ली भएको ४९ बषिर्या कृष्णमाया गहतराजले बताईन । 'बिहान पाकेको भात पनि खान नदिई सबै सामान बाहिर निकालेर छाप्रो भत्काईदिए' उनले रुदै भनिन 'गरिखाने ठाउँ र बास केही छैन अब कहाँ गएर बस्ने ?'
स्थानीय साधुराम सिग्देलको घरसम्म बाटो लैजाने निहुँमा मापदण्डको बहाना देखाएर टहरा भत्काईएको छोरी कमलाले बताईन । 'घरमुली अपाङ्ग अशक्त भएकोले गरिखान अस्थायी टहरा बनाएर पसल राखेका थियौं' उनले भनिन 'कच्ची बाटो नजिकैका त्यतिधेरै पक्की घर टहरालाई छुदै नछोई हाम्रो मात्र टहरा भत्काएर अन्याय गरियो ।'  उक्तबाटोको शुरुवात शिशुवादेखि देउरालीसम्मको १० किलोमिटर बाटोसँगै प्रशस्त पक्की घर बनेपनि त्यसबारे नगरपालिका र स्थानीय राजनीतिक संयन्त्रले भत्काउने र हटाउने कुनै निर्णय गरेको छैन । पीडित परिवारले गाउँमा दलितमाथि भएको थिचोमिचो र अन्याय बारे आवाज उठाएका कारण उठिवास गराउने उदेश्यले आफ्नो टहरा भत्काएको आरोप लगाएका छन ।
गाउँमा ठुलावडाको मेलापात नगएको र छुवाछुतको घटनाको बिरोध गरेको झोकमा आफुहरुलाई हटाईएको उनले बताईन । 'गाउँमा मेलापात गरेर हिड्ने जात समाजको नियम नमानेर अधिकारको कुरा गर्दै हिडेर गलत गरे भन्थे' कमलाले भनिन 'अहिले बाटोको बहानामा उठिबास लगाए ।'
प्रहरीले बाटो नजिकै मापदण्ड मिचेर टहरा बनाएकोले स्थानीय बडास्तरिय राजनीतिक संयन्त्र र नगरपालिकाको निर्णय अनुसार भत्काईएको जनाएको छ । 'नगरपालिका र सिडियो कार्यालयको रित अनुसार हटाएका हौं' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक पुष्कर कार्कीले भने 'हामीले आदेश अनुसार काम गरेका हौं ।'
« Go Back
Supporters / Sponsors :