दलित समाचार » बर्दिया गोलीकाण्ड घटनाको सहमति बदरको माग गर्दै अख्तियारमा उजुरी
बर्दिया गोलीकाण्ड घटनाको सहमति बदरको माग गर्दै अख्तियारमा उजुरी
Posted: June 25, 2010
काठमाडौं । असार ११ गते
राजु पासवान
बर्दिया गोलीकाण्ड घटनामा कानुन विपरित सहमति गरिएको तथा निर्णयहरू बदरको माग गर्दै बर्दिया घटनाका लागी दबाब समूहले ०६७ असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियामा अनुसन्धान तहकिकातको अवस्था रहेको जाहेरी दरखास्तलाई सार्वजनिक पद धारण गरेको व्यक्तिबाट प्रत्यक्ष असर पर्ने गरी ०६६ चैत २६ गते गरिएको सहमति तथा निर्णयहरू बदर गर्न माग गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा अनुसन्धान तहकिकात भइरहेको अवस्थामा उक्त अनुसन्धान कार्यलाई प्रत्यक्ष असर पार्ने गरी बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज प्र.सं. अधिकृत रमेश कुमार थापा, स.सं अधिकृत अशोक भण्डारी, रेञ्जर शर्मा समेतले एक सहमति गरेको उजुरी पत्रमा उल्लेख छ । सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले अख्तियार दुरुपयोग गरेमा आयोगले प्रचलित कानून बमोजिम अनुसन्धान र तहकिकात गर्ने मुद्दा चलाउने तथा तत्सम्बन्धि अन्य कारबाही गर्ने प्रावधान रहेको छ ।

उजुरी पत्रमा भनिएको छ-"प्रस्तुत उजुरी कानूनी शासन र दण्डहीनताको बारेमा नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा समेत उल्लेख भएको र सो दण्डहीनता र कानुनी शासनको सवाल सार्वजनिकहित र सरोकारसँग प्रत्यक्ष गाँसिएको हुँदा उपरोक्त कार्यले सार्वजनिकहीत र सरोकार समेतलाई असर पुग्ने भएकाले अख्तियार दुरुपयोग आयोग ऐन २०४८ को दफा ८ बमोजिम प्रस्तुत उजुरी गर्ने हकदैया निवेदकहरूमा अर्न्तनिहित भएको अनुरोध गर्न चाहन्छु ।"

बर्दिया घटनाका लागी दबाब समूहमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम, दलित गैर सरकारी संस्था महासङ्घ, दलित कल्याण सङ्घ, महिला कानून र विकास मञ्च, दलित महिला सङ्घ, कोक्याप, ल्यानकाउ नेपाल, जन उत्थान प्रतिष्ठान, न्याय मञ्च, दलित सेवा सङ्घ, एनएनडिएसडब्लुओ लगायतका संस्था रहेका छन् ।

राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटीएका नेपाली सेनाले ०६६ फागुन २६ गते राति चलाएको गोली लागी सुर्खेत हरिहरपुर गाविस-२ की ३६ वर्षीया देविसरा विश्वकर्मा, उनीकी ३३ वर्षीया बहिनी अमृता विश्वकर्मा र छोरी १३ वर्षीया चन्द्रकला विश्वकर्माको मृत्यु भएको थियो ।

व्यवस्थापिका संसदको महिला, बालबालिका समित, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, राष्ट्रिय दलित अयोग लगायतले पीडित परिवार जङ्गलमा काउलोको बोक्रा सङ्कलन गर्न गएको बेला सेनाले अत्यधिक बल प्रयोग गरेको तथा घटनामा सेना दोषी रहेको प्रतिवेदन मार्फत जनाएको छ भने नेपाली सेनाले उनीहरू शिकारी भएको र कारबाहीको क्रममा मृत्यु भएको दावी गरेको छ ।


« Go Back
Supporters / Sponsors :