दलित समाचार » प्रेमले पार्यो बिचल्ली |
||
| प्रेमले पार्यो बिचल्ली
Posted: August 8, 2010 घनश्याम खड्का काठमाडौ, श्रावण २१ - प्रेम र सम्बन्धले मान्छेलाई कतिसम्म तान्छ ? यो प्रश्न सप्तरीकी रञ्जनकुमारी सिंह र उनको प्रेमी किशोरकुमार पासवानलाई सोध्नु सान्दर्भिक हुन्छ । एउटै गाउँ जगतपुरमा हुर्के बढे पनि फरक जात र फरक सामाजिक पृष्ठभूमि भएका यी दुईले आफ्नो प्रेमका लागि घरपरिवार मात्रै होइन आफैंलाई पनि दाउमा राखेका छन् । एकअर्काबिना बाँच्न नसक्ने भन्दै डेढ महिनाअघि घरबाट भागेर काठमाडौं आइपुगेका यी दुईको सम्बन्धको व्याख्या अब सर्वाेच्च अदालतले गर्नेछ । 'मेरी छोरीलाई यसले अपहरण गर्यो, दलित आयोगले बन्दी बनायो,' दलित र गरिब केटोले माथिल्लो जातकी आफ्नी छोरीलाई लगेकामा अघोरै रिसाएका रञ्जनकुमारका बाबु विश्वनाथ भन्छन्, 'हामी अन्यायमा पर्यौं । छोरीचाहिँ बाबुआमाको कुरो ठाडै अस्वीकार गर्छिन् र भन्छिन्, 'म राजीखुसीले घरबाट हिँडेकी हुँ र उसँग बिहा पनि गरिसकेँ ।' आफ्नो प्रेम सम्बन्धका विरोधी बाआमासँग रञ्जनकुमारी कतिसम्म रिसाएकी छन् भने उनी तिनलाई 'मेरा कोही होइनन् र म यिनलाई चिन्दिन,' भन्छिन् । छोरी अपहरण भएको भन्दै दुई दिनअघि बाबुआमाले हालेको रिटका कारण शुक्रबार सर्वाेच्चमा झिकाइएकी उनले पत्रकार, प्रहरी, अधिवक्ता, मानव अधिकारकर्मी र अदालतका कर्मचारीका अघिल्तिर यसै भनिदिइन् । 'यसको कुरो के पत्याउनु, भर्खरकी बालिका छे, उमेरै पुगेकी छैन, कुरै बुझेकी छैन' उनकी आमा मीनादेवी गहभरि आँसु पारिन्, 'घर लगेर यसलाई सम्झाउँला नि ।' 'म ठूली भइसकेँ र कुरो पनि बुझिसकेँ आमाको कुरो तत्काल प्रतिवाद गर्दै रञ्जनकुमारीले भनिदिइन्, 'म घर जान्न र तपाईं मेरो कोही पनि होइन ।' आमाका अनुसार छोरी १६ वर्ष पाँच महिनाकी भइन् । छोरीका अनुसारचाहिँ उनीहरूले उनको उमेर तीन वर्षले घटाएका छन् । 'दस महिना कोखमा राख्ने मचाहिँ झूटो भएँ' मैथलीमा उनले छोरीप्रति मायामिश्रति आक्रोश पोखिन्, 'मैले भनेको नमान्ने तचाहिँ साँचो भइस् ?' घरछेउको सर्वाेदय उमाविमा १० कक्षाकी छात्रालाई अहिल्यै बिहा गर्न केको आतुरी ? पढाइसकेपछि गरेको भए पनि त हुन्थ्यो ? 'भनेको त हो नि' रञ्जनकुमारीले रोउँलाझैं गरिन्, 'घरमा बिहा गरिदिन खोजे, उससँग छुटाउन थाले । अनि नभागी सुखै भएन ।' रञ्जनकुमारीका परिवारले छुटाउन खोजेपछि त्यही उमाविमा बीएड पहिलो वर्षका विद्यार्थी किशोरकुमारसँग तीन वर्षदेखिको अल्लारे प्रेम जोगाउन भाग्नुबाहेक अर्काे कुनै विकल्प भएनछ । 'मैले पनि जागिर खाएपछि बिहा गरौंला भन्ने चाहेको थिएँ,' २२ वर्षे उनले भने, 'तर तिमीले नलगे झुन्डिएर मर्छु भनिन्, अनि हामी घरै छाडेर हिँड्यौं ।' खुत्रुकेमा राखेर जम्मा पारेको पाँच हजार रुपैयाँ बोकेर गत असार २ गते बिहानै किशोरकुमार रञ्जनकुमारी साथै लिएर काठमाडौं आइपुगे । एउटा रातो सारी, सिन्दुर, पोते र चुरा किनिदिए । गुजारा गर्नसम्म हुने शैलीमा स्वयम्भूमा कोठा लिएर बसे । उता घरमा मेरी छोरी कहाँ लगिस् भन्दै रञ्जनकुमारीका बाआमा किशोरकुमारको परिवारमाथि जाइलागेछ । गाउँका सारा मानिस दलित भएर यत्रो हिम्मत गर्ने भन्दै कुटपिटमा उत्रिएछन् । 'उसको काका थलिएर उपचार गर्न भारत पुगेका छन् अहिले' उतैका पत्रकार भोला पासवान भन्छन्, 'प्रहरी लगाएर नकुटाएसम्म गाउँका सबै मिलेर चक्का जामै गरिदिएछन् ।' स्थानीय प्रहरी चौकीमा किशोरकुमारविरुद्ध जाहेरी पनि परेछ, रञ्जनकुमारीलाई अपहरण गरेको अभियोगमा । प्रेमीकाका आफन्तले ज्यानै लिने धम्की पनि दिए । यो सबदेखि पार पाउन उनले राष्ट्रिय दलित आयोगमा उजुरी हाले । 'अनि हामीले गाउँमा उनीहरू हाम्रो सम्पर्कमा आएको भन्दै प्रहरीलाई खबर दियौं,' आयोगका सदस्य गोविन्दबहादुर नेपाली भन्छन्, 'तर उल्टै हामीलाई नै केटीका बाबुले छोरी बन्दकी बनाएको भन्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेछन् ।' रिट परेकै दिन अदालतले आयोगलाई तीन दिनभित्र लिखित जवाफसहित केटाकेटी दुवैलाई उपस्थित गराउनु भनी पत्र काट्यो । आदेशअनुसार तेस्रो दिन शुक्रबार आयोगका पदाधिकारी र कर्मचारीहरू पत्र, नवबधू र वकिलसहित अदालत आए जहाँ देख्ने जति सबैको ध्यान भागेर आएको जोडीले तानिरहेको थियो । अदालतले जेजस्तो फैसला गरे पनि र बाआमाले जति नै कराए पनि उनीहरू ज्यान दिने तर साथ नछाड्ने अडानमा छन् । 'हामीले प्रेम गरेका हौं,' फिल्मी शैलीमा किशोरकुमारले भनिदिए, 'गए ज्यानै जाहोस् तर एकअर्कालाई छाड्ने छैनौं ।' आफन्त सबै विरोधमा उत्रिएका बेला घरदेखि पर महानगरको डेरामा जागिर, अनुभव र पैसा केही नभएका उनीहरूको बाँच्ने सहाराचाहिँ के होला ? 'जेसुकै होस्' दुवैले भने, 'हामी सँगै बस्छौं भनेपछि बस्छौं ।' Source: ekantipur.com « Go Back |
Supporters / Sponsors :
